Samajik Katha Nepal

Samajik Katha Nepal is a blog dedicated to sharing real social stories, issues, and experiences from Nepal. We highlight the voices of society, bringing awareness and inspiring change through meaningful storytelling.

Saturday, February 15, 2025

क्रान्तिमा हराएका सपनाहरू

 वि. स. २०५२ सालको सुरूवातसँगै नेपालमा युद्धको बादल मडारी  रहेको थियो । गाउँ-गाउँमा अराजकता, त्रास, र अनिश्चितताले जरा गाड्न थाल्यो। दाङ जिल्लाको एउटा सानो गाउँमा जन्मिएका अर्जुनले कहिल्यै कल्पना गरेका थिएनन् कि उनका शान्तिपूर्ण दिनहरू रक्तरञ्जित संघर्षमा परिणत हुनेछन्।

अर्जुन एक सामान्य किसान परिवारका छोरा थिए। उनका बुबा खेती गर्थे, आमा घर सम्हाल्थिन्, र उनी विद्यालय जान्थे। उनी शिक्षक बन्ने सपना देख्थे, तर समयले उनलाई अर्कै यात्रातर्फ धकेल्दै लग्यो। गाउँमा सेना र माओवादीबीच लगातार झडप भइरहेको थियो। माओवादीहरू गाउँमा समाज र देशको परिवर्तन का लागि  युवाहरूलाई भर्ती गरिरहेका थिए,उहाँ हरु को क्रान्तिकारी विचार र समाजका लागि सोचेका सकारात्मक तथा रचनात्नक क्रियाकलापहरुले धेरै जसो युवाहरु लाइ माओवादी बनेर देशका लागि केहि गर्न प्ररित गरिरहेको थियो।  समाज मा सदियौं देखि जरा गाडेर बसेका कुरीतिहरु लाई माओवादीहरुले उखेलेर फाल्ने संकल्प नै गरेका थिए।  तर अर्जुन लाइ यी तमाम कुराहरु भन्दा परिवार कै चिन्ता बढी थियो।  उसलाई  आफ्नो असहाय बुबाआमा भन्दा कदापि कुनै क्रान्ति प्यारो थिएन। 

एक दिन, अर्जुनका बुबालाई सेनाले पक्राउ गर्‍यो। आरोप थियो— उनले माओवादीलाई सहयोग गरेका थिए। तर सत्य के थियो भने उनी त एउटा असहाय किसान मात्र थिए, जसलाई राजनीति र युद्धसँग कुनै सम्बन्ध थिएन। केही दिन हिरासत मै रहेको बेला खबर आयो— अर्जुनका बुबा सेनाको हिरासतमा मारिए।

यो खबर सुनेपछि अर्जुनको मन चकनाचुर भयो। उनी आफ्नो बुबाको हत्या भएको गाउँलेहरूसँग सुन्न बाध्य भए, तर केही गर्न सक्ने स्थितिमा थिएनन्। हिरासतमै मारिएका अर्जुनको बुबा आफ्नो छोरा को दागबत्ती नपाएरै अस्ताय उता रिस, दुख, र अन्यायको महसुसले अर्जुनको आत्मा पोल्न थाल्यो।

अन्याय को विरुद्ध लड्न र आफ्नो बुबाको हत्याराहरुलाई सजाय दिन भए पनि उनले माओवादी मा समावेश हुने निर्णय लिए, उनी पनि जनयुद्धमा सामेल हुन्छन् । 

बदला र आक्रोसमा जल्दै अर्जुनले कठिक माओवादी तालिम संगै विभिन्न नयाँ अनुभवहरु प्राप्त गर्यो र यो समाज संगै देशको परिवर्तनका लागि क्रान्ति र बलिदान कत्तिको आवस्यक छ भन्ने कुरा राम्ररी बुझ्यो।  

उनले बन्दुक समाए, तर उनको मनमा एउटा द्वन्द्व सधैँ रहिरह्यो। उनी परिवर्तन चाहन्थे, न्याय चाहन्थे, तर बन्दुकको बाटोले के साँच्चै त्यो दिन सक्थ्यो ?


वर्षौँ बिते। अर्जुन अब युद्धको कठोर अनुहार बुझेका थिए। उनका आँखाले सयौँ निर्दोष मानिसहरूको मृत्यु देख्यो। कहिले सेनाको गोलीले, कहिले माओवादीका आक्रमणले। माओवादी भइसकेपछि पनि उनले धेरै पटक आफ्नै मनलाई सोधे— "यो लडाइँको अन्त्य कहाँ छ ?"

 एक दिन त्यसै गाउँ मा गोप्य रुपमा बास बसे तर त्यसै रात त्यो गाउँ मा शाही सेनाले अकस्मात आक्रमण गर्यो।  माओवादी र सेना बिच रातभरि युद्द भयो र दुवै तिर सैयौ मान्छे मरे तर विडम्बना के पनि थियो भने त्याँहा गाउँका धेरै मान्छेहरुले पनि आफ्नो  मै ज्यान गुमाउनु पर्यो। केहि सेनिकहरु बचेर भाग्न सफल भए।  यो लडाई मा मर्ने को संख्या माओवादी भन्दा शाही सेनाको धेरै थियो र केहि जनता थिए।  

अर्को बिहान गाउँ को माहोल भयावह थियो माओवादीहरुले थप सेना आउनुभन्दा पहिले आफ्नो साथीहरुको लास उठाई रहेका थिए।  अर्जुनका हाथहरु पनि रगत ले रकताम्वित थिये र साथीहरु को लास भारि मनका साथ उठाउदै बोक्न थाले । उनीहरु त्यो गाउँ बाट फर्किदै गर्दा उनले एक आमा देखे, आफ्नो मृत पति को छेउ मै बिलाप गर्दै आफ्ना साना छोराछोरीलाई अँगालोमा राखेर रोइरहेकी थिइन्। अर्जुनको मन काँप्यो। त्यो दृश्यले उनलाई आफ्नै आमाको सम्झना गरायो— जसले बुबाको मृत्युपछि रातभर रुने गर्थिन्।

अर्जुनले बन्दुक राखे। उनले सोच्न थाले— "के म पनि त्यही अन्याय दोहोर्‍याइरहेछु, जसले मलाई यो बाटो रोज्न बाध्य बनायो?"


अन्ततः, युद्ध सकियो। माओवादीहरू मुख्यधाराको राजनीतिमा आए। तर अर्जुन जस्ता हजारौँ युवकहरूका सपनाहरू कहीँ हराए। न उनी शिक्षक बने, न उनले शान्ति पाए। युद्धले उनलाई केही जितायो भने, त्यो थियो - अपराधबोध, सम्झनाहरू, र मनभित्रको एक गहिरो घाउ।

अर्जुन आफ्नो गाउँ फर्के। गाउँ उस्तै थियो, तर मानिसहरू परिवर्तन भइसकेका थिए। कतिका छोरा-छोरी थिएनन्, कतिका बुबा-आमा थिएनन्। अर्जुनले आफ्नो घरको ढोका ढकढक्याए। आमा बाहिर आइन्। उनी रोइनन्, उनी केही बोलिनन्, केवल अर्जुनलाई हेर्दै आँसु झारिरहिन्।

त्यस रात अर्जुनले बन्दुकलाई जलाइदिए। अब उनलाई युद्धले कुनै अर्थ दिँदैन थियो। उनले बुझे— बन्दुकले व्यवस्था फेर्न सकिएला, तर मुटुमा परेको चोट निको पार्न सकिँदैन।




No comments:

Post a Comment